काठमाडौँ – नेकपा एमालेले नेपाली झण्डासहितको पानी जहाज र रेल सञ्चालनको योजनालाई यस पटकको घोषणापत्रमा पनि दोहोर्‍याएको छ ।

छिमेकी मित्रराष्ट्रहरूको सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झण्डासहितको पानी जहाज सञ्चालन गरिने एमालेले चुनावी प्रतिबद्धता व्यक्त गरेको छ । ‘नेपालका प्रमुख नदी हुँदै गंगाबाट कलकत्ता बन्दरगाह र समुद्रसम्मको जल यातायात सञ्चालन गरिने छ’, घोषणापत्रमा भनिएको छ ।

- Advertisement -
Ad imageAd image

त्यसैगरी, एमालेले देशका विभिन्न स्थानमा रेल सञ्चालन गर्ने योजनालाई पनि घोषणापत्रमा दोहोर्‍याएको छ । निर्माणाधीन पूर्व–पश्चिम रेलमार्गको बर्दिवास–निजगढ खण्डको निर्माण कार्य सम्पन्न गरी रेल सञ्चालन गरिने, निजगढ–बुटवल खण्डको निर्माण कार्य अघि बढाइने, बाँकी भागको जग्गा अधिग्रहण कार्य गर्ने एमालेको घोषणा पत्रमा उल्लेख छ ।

रसुवागढी–काठमाडौं रेलमार्ग र वीरगञ्ज–काठमाडौं रेलमार्ग निर्माण प्रक्रिया शुरु गर्ने तथा सबै महानगरमा र काठमाडौं उपत्यकामा मेट्रो रेल, शहरी केवलकारजस्ता आधुनिक परिवहन सेवा सञ्चालनका लागि आवश्यक अध्ययन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता पनि एमालेले घोषणापत्रमा उल्लेख गरेको छ ।