उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरिँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – आज (सोमबार) उदाउँदो सूर्यलाई अर्घ्य दिई लोकआस्थाको पर्व छठको समापन गरिँदै छ। मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ।

व्रतालुले नदी, तलाउ तथा पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिइ आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवानले सूर्यलाई अर्घ्य अर्पण गर्छन्।

अर्घ्यमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ। सूर्यलाई दिइने अर्घ्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ।

छठ पर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो। छठ पर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि संकल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो।

अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो।

धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भइ पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ।

प्रतिक्रिया दिनुहोस्

TAGGED: