सन्दीपविरुद्ध भोलि अभियोजनपत्र दायर गरिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ  – बलात्कारको आरोप लागेका सन्दीप लामिछानेविरुद्धको अभियोजनपत्र सोमबार (भोलि) जिल्ला अदालत काठमाडौंमा दायर गरिने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी वृत्त गौशालाको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोजनपत्र दायर गर्न लागेको हो ।

प्रहरी प्रतिवेदनमा नाबालिग बलात्कारसम्बन्धी कानुनानुसार १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताएका छन ।

मुलुकी अपराध संहिता, २०७४ मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलाको जबरजस्ती करणी गर्ने व्यक्तिलाई परिस्थिति हेरेर १० देखि १२ वर्षसम्मको कैद हुने व्यवस्था छ । यसबाहेक पीडितलाई उचित क्षतिपूर्तिको माग पनि गरिएको छ ।

अभियोजनपत्र दायर भएपछि अदालतमा सन्दीपको बयान हुनेछ । त्यसपछि थुनछेक बहस हुनेछ । अदालतले उनलाई तारेखमा छाड्ने वा पुर्पक्षका लागि जेल पठाउने भन्नेबारे आदेश दिनेछ । यो प्रक्रिया आउँदो मंगलबारसम्म सकिने बताइएको छ ।

एक नाबालिगले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै उनीविरुद्ध गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । जाहेरीमा सन्दीपले भदौ ५ गते राति पिंगलास्थानको ‘होटेल काठमाडौं इन’मा लगेर बलात्कार गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

Array