सरुवा भएका कर्मचारीलाई नयाँ कार्यालयमा आजै हाजिर हुन आयोगको निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ आश्विन २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ – निर्वाचन आयोगले सरुवा भएका कर्मचारी आफ्नो कार्यालयमा (आइतबार) आजै हाजिर हुन निर्देशन दिएको छ । कर्मचारी सरुवा रोक्नका लागि सरकारलाई निर्देशन दिएको आयोगले यसअघि सरुवा भइसकेकाहरुका लागि तत्कालीन कार्यालयबाट रमाना भइ नयाँ कार्यालयमा हाजिर हुनका लागि आजसम्मको समय दिएको हो ।

आयोगले असोज ६ गते बिहीबार सरकारलाई कर्मचारीको सरुवा रोक्न निर्देशन दिएको थियो । त्यस अवधिसम्म सरुवा भइसकेकाहरुको हकमा नयाँ कार्यालयमा हाजिर गर्न आजसम्मका लागि समय दिएको थियो । आयोगले बिहीबारदेखि नै लागु हुनेगरी कर्मचारी सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन नेपाल सरकारलाई निर्देशन दिएको थियो । आकस्मिक सरुवा गर्नुपरेको अवस्थामा आयोगको सहमति लिनका लागि पनि निदेर्शन दिएको थियो ।

आयोगले अस्थायी मतदाता नामावलीमा कर्मचारीहरूको नाम समावेश गर्ने प्रक्रिया प्रारम्भ गरिसकेकाले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली संकलनको कार्यमा बाधा उत्पन्न हुने देखिएको बताएको छ ।

“यसले समग्र निर्वाचन व्यवस्थापनमा समेत प्रतिकूल प्रभाव पार्ने हुँदा निर्वाचन सम्बन्धी कानूनी व्यवस्था बमोजिम निर्वाचन सम्पन्न नभएसम्मका लागि मिति २०७९-०६-०६ देखि निर्वाचन आयोगको अनुमति नलिई कुनै पनि कर्मचारीको सरुवा नगर्न नगराउन र मिति २०७९-०६-०५ गतेसम्म सरुवा भइसकेको अवस्था भए तत्काल रमाना दिई मिति २०७९-०६-०९ गतेसम्म सम्बन्धित कार्यालयमा हाजिर भईसक्ने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत नेपाल सरकार, सबै प्रदेश सरकार र सबै स्थानीय तहहरू लगायत सबै सार्वजनिक निकायहरूलाई आयोगले निर्देशन दिएको छ, आयोगले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array