संविधानको रक्षकबाट नै खुलेआम संविधान मिच्ने काम भईरहेको छः अध्यक्ष प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संविधानको रक्षकबाट जानी–बुझी संविधान मिच्ने काम भएकोले प्रतिगमनको खतरा बढेको बताएका छन् । परिवर्तनका पक्षधरहरू सडकमा नजाने हो भने प्रतिगमनका फँणाले डस्न सक्ने उनले बताए ।

अखिल नेपाल किसान महासंघको कार्यक्रमलाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले संरक्षकबाटै खुलेआम संविधान मिच्ने काम भएकोले प्रतिगमनको खतरा बढेको बताएका हुन् । ‘कुरा गहिरो छ, धेरै नै गहिरो छ, प्रतिगमनको षडयन्त्र रोकिएको छैन, नयाँ–नयाँ रूपमा ल्याउँदैछन् । सतर्कता गुमाएमा कुनै पनि दिनमा प्रतिगमन हुने खतरा छ’, प्रचण्डले भने, ‘अमूर्त कुरा गरेको होइन संविधान खुलेआम मिच्ने काम संविधानको पालक र संरक्षकबाट भइरहेको छ । जानी–बुझी संविधान मिच्ने काम भइरहेको छ । यसलाई रोक्न जनताको पहलले मात्र सकिन्छ, सडकमा जानुपर्ने हुनसक्छ ।’

प्रतिनिधि सभा विघटनमार्फत संविधानका उपलब्धि उल्टाउने खेल असफल भए पनि परिवर्तन नचाहने तत्वले फेरि षडयन्त्र शुरू गरेको उनले दाबी गरे । ‘गतवर्ष जुन प्रतिगमन हुन खोजेको थियो, लाखौँ जनतालाई सडकमा ल्याएपछि रोकिएको हो । देशलाई प्रतिक्रान्तिमा लैजाने षडयन्त्रलाई सडकमा जनता उतारेर मात्र परास्त गर्न सकिन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्