कार्तिकबाट बागमती नदीमा सफा पानी बग्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ आश्विन २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौँ – आगामी कार्तिकबाट बागमती नदीमा सफा पानी बग्ने भएको छ । काठमाडौं उपत्यकाकै (काठमाडौं, ललितपुर र भक्तपुर) आकर्षक बागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएको हो । गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा पर्ने बागमती धाप परियोजनामा जम्मा गरिएको पानी आगामी असोज २९ गतेपछि वागमती नदीमा पठाउने तयारी भइरहेको छ ।

समुन्द्री सतहबाट दुई हजार ८० देखि ९० मिटरको उचाईमा मानव निर्मित यति ठूलो पोखरी नेपालमै पहिलो भएकाले पनि यसलाई आकर्षक मान्ने गरिएको छ । साथै यो धाप नेपालमै पहिलो सीएफआरडी ड्याम पनि हो । निर्माण हुँदै गरेको धाप बाँधले सुख्खायाममा प्रतिसकेण्ड ४० लिटरका दरले वागमतीमा आठ महिनासम्म पानी छोड्न मिल्नेछ ।

ढलको व्यवस्थापन प्रभावकारी हुनसके र सँगसँगै फोहोर व्यवस्थापन भएको खण्डमा त्यसले वागमतीको शिरदेखि चोभारसम्म नै सफा पानी बग्नेछ । आयोजनाका प्रमुख इन्जिनियर निश्चल छतकुलीले काठमाडौं उपत्यकामा पानीको उपलब्धता र पानीको गुणस्तर दिनानुदिन घट्दै गइरहेको अवस्थलाई मध्यनजर गरेर धाप निर्माण गरेको बताए ।

धापबाट वागमतीमा पानी पठाइसकेपछि पनि नुहाउनयोग्य बनाउनको लागि ४५० लिटरजति सफा पानी मिसाउनुपर्ने जायिकाको अध्ययनले देखाएको बताए । एशियाली विकास बैंकको ऋण सहयोगमा यो अभियान शुरु भएको बताए । उनले मुख्य ड्याम र सहायक ड्यामहरु पनि निर्माण भइ पानी जम्मा गर्न शुरु गरिएको बताए । शुरुमा ८ लाख ५० हजार घनमिटर जति पानी जम्मा गर्न सकिन्छ भनेपनि अहिले त्यो भन्दा धेरै मात्रामा जम्मा गर्न सकिने कुरा अध्ययनले देखाएको बताए ।

प्रतिक्रिया दिनुहोस्

Array