विज्ञ समूहले बुझायो सरकारलाई प्रतिवेदन, निजगढमै विमानस्थल उपयुक्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले अध्ययन प्रतिवेदन सरकारलाई हस्तान्तरण गरेको छ। सर्वोच्च अदालतको आदेशअनुसार तयार पारिएको प्रतिवेदन विज्ञ समूहले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको हो।

नेपालको दूरगामी विकास तथा आर्थिक समृद्धिको लागि बढ्दो हवाई ट्राफिक धान्न सक्ने पूर्ण क्षमताको अन्तराष्ट्रिय विमानस्थल आवश्यक रहेको विज्ञ समूहको निष्कर्ष रहेको छ। काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक) र पूर्व-पश्चिम राजमार्गसँगै जोडिएको पसाहा नदी र बकैया नदीबीचको करिब ९ हजार हेक्टर क्षेत्रफल भित्रको करिब ४ हजार हेक्टर क्षेत्र विमानस्थल निर्माणको लागि उपयुक्त देखिएको प्रतिवेदनमा उल्लेख छ। वातावरणमा प्रतिकुल असर नपर्ने गरी वातावरणीय व्यवस्थापन योजना तयार गर्ने गरी सोको कानुनी विधि र प्रक्रिया पुरा गरी आवश्यक स्विकृती प्राप्त गरी विमानस्थल निर्माण कार्य गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

रुख कटानी तथा वातावरणीय क्षती न्यूनीकरण गर्न सर्वोच्च अदालतको आदेशलाई ध्यानमा राखी एयरपोर्ट सिटीको अवधारणालाई पूरै त्याग्नुपर्ने सुझाव विज्ञ समूहले दिएको छ। विज्ञ समूहले दिएको प्रतिवेदन अनुसार पूर्ण क्षमताको अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य छिट्टै सुरु गरिने विज्ञ समूहले विश्वास लिएको छ। गत साउन २६ गतेको मन्त्रिपरिषद्‌को निर्णयानुसार विज्ञ समूह गठन भएको थियो। निर्धारित समयमै विज्ञ समूहले अध्ययन गरी प्रतिवेदन बुझाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array