सेयर बजार घट्ने बढ्ने बजारप्रति लगानीकर्ताको विश्वासले हो, जुन पार्टिको सरकार आए पनि फरक पर्दैन (अन्तर्वार्ता)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ आश्विन २०७९, शनिबार
7 Min Read
Aa
Highlights
  • शेयर बजारमा हामिले पछिल्लो ट्रेन्ड हेर्न हो भने केहि समय कांग्रेस र केहि समय कम्युनिष्ट सरकार हुँदा बजार बुलिस भएको तथ्य रहेको छ । जसले के संकेत गर्छ भने सेयर बजार लगानीकर्ताको बजारप्रतिको विश्वास, लगानीयोग्य रकम, बैंक ब्याजदर, कम्पनीको अवस्था र कम्पनीप्रति लगानीकर्ताको विश्वास जस्ता पक्षहरुले चलायमान राख्छ जसकारण कुनै एउटा अमुक पार्टिको सरकारले त्यस्तो ठूलो भिन्नता राख्दैन ।

सतिश प्रसाद भट्ट जेम्स इन्भेष्टमेन्ट प्रा.ली.का  संस्थापक अध्यक्ष हुनुका साथै काठमाडौं उपत्यकाका बिभिन्न कलेजहरुमा स्नातक तथा स्नातकोत्तर तहमा बित्त शास्त्र, ब्यवस्थापन तथा बैंकिङ सम्बन्धी बिषयहरुमा बिगत ९ बर्ष देखी प्राध्यापन पेशामा आबद्द हुनु हुन्छ । भट्टसँग गोरक्षापोष्टका संवाददाता राममाया बस्नेतले वर्तमान सेयर बजारको अवस्थाको विषयमा गरेको कुराकानीको सारांश प्रस्तुत गरिएको छ । जेम्सले शेयर बजार लगायत अरु बिभिन्न सेक्टरमा लगानी गर्दै आएको छ ।

   नयाँ स्टक एक्सचेन्ज  आउदा बजारमा कस्तो प्रभाव पर्ला ?

नयाँ एक्सचेन्ज आउँदा बजारमा कस्तो प्रभाव रहला भन्नु भन्दा पनि नयाँ एक्सचेन्ज आउँदा अहिलेको एक्सचेन्जभन्दा के र कसरी फरक हुन्छ भन्ने कुरा मुख्य हो । अहिलेकै जस्तो रहेर काम गर्नको लागि हो भने नयाँ एक्सचेन्ज आउनु र पुरानो हुनुको तात्विक भिन्नता हुँदैन र हाम्रो अर्थतन्त्रको हिसाब गर्ने हो भने अहिलेको कम्पनीहरुको साइज एउटै एक्सचेन्जले धान्न सक्छ बरु बजारको दायरा वृद्धि गर्न यहि एक्सजेन्जको क्षमता बढाएर जानु मेरो बिचारले उपयुक्त देखिन्छ ।

   अहिले बजारमा सबै लगानीकर्ता आतिसकेको अवस्थामा के भन्नुहुन्छ ?

बजारको बियरिस साइकलमा नयाँ लगानीकर्ताहरु डराउनुलाई स्वभाविक मान्न सकिन्छ । बजारको उतार चढावसँगै लगानीकर्तामा आउने परिपक्वताले बजार र लगानीकर्ता दुवैलाई परिपक्क बनाउँदै लान्छ र बजारको दिगो विकास हुन जान्छ । बरु अहिले डराउनुको सट्टा बजार सम्बन्धि ज्ञान बढाउँदै लगानी गरेमा दिर्घकालिनरुपमा  उच्च प्रतिफल हासिल गर्न सकिन्छ ।

   नयाँ ब्रोकर कम्पनिहरुलाई लाइसेन्स दिदाँ बजारमा कस्तो प्रभाव रहला ?

यसले बजारमा प्रतिस्पर्धा बढाई बजारलाई थप प्रतिस्पर्धि बनाउन तथा बजारको दायरा बढाउन सहयोग पक्कै गर्छ । तर पनि नयाँ ब्रोकर कम्पनिहरु थपिदा त्यो बाट सृजित अस्वस्थ प्रतिस्पर्धालाई चाहि सम्बोधन गर्न सक्नुपर्छ । तर पनि यसले समग्र बजारलाई थप प्रतिस्पर्धी बनाउन सहयोग भने गर्छ ।

    अहिले सेयर बजार घट्नुको मुख्य कारण के हुन सक्ला ? 

सेयर बजार अल्पकालमा सेयरको माग र आपूर्तिमा भर पर्दछ, भने दीर्घकालमा अर्थतन्त्र, तथा अर्थतन्त्रका अन्य बृहत परिसूचकहरु र कम्पनीको आधारभुत अवस्थामा निर्भर रहने गर्छ ।

      बजारमा नयाँ लगानीकर्ता पस्ने बेला आएको हो ?

नयाँ लगानीकर्ता यदि अल्पकालिन कारोबार गर्ने उदेश्यले ऋण लिएर बजारमा पस्न खोजेको हो भने सधै लगानिको लागतको हिसाब गरि लगानि रकमको करिब २० प्रतिशतले कारोबार गर्न सकिन्छ । तर, दीर्घकालिन लगानी उदेश्य हो भने सम्पूर्ण रकमलाई ३ भागमा बाँडेर आहिलेको परिसुचकबाट हरेक घटाईमा आधारभूत रुपले बलिया सेयरहरु किनेर थप्दै जाने र सेयरबाट आउने लाभांशलाई शेयरमा नै पूनः लगानी गरी सेयर जम्मा गर्दै नयाँ बुल कुर्ने र आफुले तय गरेको मूल्यमा बेच्ने रणनीति बनाउन सकिन्छ । .

     अब बजार कतिसम्म तल जाला र अहिले बजारमा मुख्य के कुराले असर गरिरहेको छ ? 

बजार कति तल जाला कति माथि पुग्ला भन्ने सबैको आ–आफ्नो अनुमान हुन्छ । तर, बजार ३२ सय अंकको उच्च बिन्दुबाट १८ सय र १९ सय को हालको विन्दु भनेको बजारमा अहिले अवसर आइरहेको समय हो । अहिले आधारभुत रुपमा राम्रा कम्पनी छनौट गर्ने र सुचकलाई धेरै ध्यान नदिने समय हो । बजारमा अहिले मुख्य रुपमा ऋण लगानी रोकिएको भएर केहि समय स्थिर रहेको छ । ऋणको ब्याज पनि उच्च विन्दुमा रहेको र केहि समय पछि यो घट्ने दिशा तर्फ जाँन्छ । जसले गर्दा बजारमा सकरात्मक असर पार्छ । मुख्य रुपमा बैंकमा ऋण लगानी गर्न सक्ने पैसाको अभाव र लगानिकर्ताले पाउने ऋण पनि उच्च ब्याज करिब (१६ देखि १८ प्रतिशत) रहेको हुँदा बजारमा असर देखिएको छ ।

     सेयर लगानी कर्ताको नाताले आगामी चुनावले बजारमा कस्तो प्रभाव पार्ने देख्नु भएको छ ? 

चुनावले सिधै सेयरबजारमा असर गर्ने होइन । चुनावपछिको राजनीतिक समीकरण र त्यसबाट बजारमा हुने आर्थिक चहलपहल मुख्य कुरा हो ।चुनाव समयमा बजारमा भएको चुनावी खर्चले सृजना गर्ने तरलता र बैकिङ्ग प्रणालीमा सो रकम कति आउँछ भन्ने अनुमान र त्यसको लगानीकर्तामा पर्ने मनोवैज्ञानिक प्रभावले पार्ने असरले बजारमा केहि प्रभाव पार्छ  र जुन पक्कै सकारात्मक रहने छ ।

 कांग्रेस अथवा कम्युनिष्ट कसको सरकार हूदा सेयरबजारमा सकारात्मक असर पार्ला ? 

शेयर बजारमा हामिले पछिल्लो ट्रेन्ड हेर्न हो भने केहि समय कांग्रेस र केहि समय कम्युनिष्ट सरकार हुँदा बजार बुलिस भएको तथ्य रहेको छ । जसले के संकेत गर्छ भने सेयर बजार लगानीकर्ताको बजारप्रतिको विश्वास, लगानीयोग्य रकम, बैंक ब्याजदर, कम्पनीको अवस्था र कम्पनीप्रति लगानीकर्ताको विश्वास जस्ता पक्षहरुले चलायमान राख्छ जसकारण कुनै एउटा अमुक पार्टिको सरकारले त्यस्तो ठूलो भिन्नता राख्दैन । बरु कुनै सरकारले लिने दिर्घकालीन अर्थतन्त्रका नीति तथा निर्णयहरुले सेयर बजार प्रभावित हुन सक्छ ।

  बजार घट्नुमा इन्साइड ट्रेडिङको भुमिका कतिको होला ?  

हाम्रो नेप्सेमा अहिले ४ सय हाराहारी कम्पनी सुचिकरण छन् र सबै कम्पनीहरुमा इन्साइड ट्रेडिङ भएर घटेको भन्दा उपयुक्त हुँदैन । तर, पनि केहि कम्पनीहरुमा भने इन्साइडर कारोबार भएको हुन सक्छ । इन्साईडर ट्रेडिङ गर्नु आफैमा कानुन विपरितको गतिविधि हो जसमा सूचनाको पहुँच हुनेले सर्वसाधारणलाई  नराम्रोसँग फसाउने सम्भावना रहन्छ । तर, पनि पुरै बजार इन्साईडर ट्रेडिङले भने पक्कै घटेको होइन ।

 सामान्य लगानकिर्ताले इन्साइड ट्रेडिङ भएको कसरी थाहा पाउने ?

इन्साइड ट्रेडिङ सामान्य अवस्थामा भएपछि मात्रै थाहा हुने कुरा हो । कुनै लगानीकर्ताले कुनै सेयरको इन्साइडर भएको आशंका लागेमा त्यो सेयरको सुक्ष्म अनुसन्धान गर्ने जस्तो भोलुम, मुल्यमा भएको उत्तर चढाव, मार्रकेट डेप्थ, कुनै एक ब्रोकरबाट भएको बाई र सेलको रेसियो जस्ता कुराहरुको सुक्ष्म बिश्लेषण गरेर अुमान गर्न सकिन्छ ।

सेयर बजारमा लगानी गर्दा कस्तो रणनीति बनाउने ?

रणनीति बनाउँदा सेयर बजार वियरिस र बुलिसलाई अनुमान गरेर रणनीति बनाउनु पर्छ । बजार घट्ने अनुमान हुँदा शेयर बेचेर बस्ने र बढ्ने अनुमान हुँदा किनेर बस्ने तर बजार धेरै घटेर तल्लो विन्दुमा आएर बेच्ने र अत्याधिक बढेर माथिल्लो विन्दुमा आएर किन्ने सकेसम्म गर्नु हुँदैन । राम्रा प्रतिफल दिने कम्पनीहरु छन् भने लामो समय होल्ड गर्न सकिन्छ । तर पनि हाम्रो मनोबैज्ञानिक कारणले कहिले काहि गल्ति हुन सक्छन र ति गल्तिहरुलाई गुरु मानेर सिकेर अगाडि बढ्नु पर्छ ।

 अहिले बजार माथि जान के कस्तो गतिविधि हुनुपर्ला ?

बजारलाई दिगो बनाउन केहि आधारभुत कुराहरुमा परिवर्तन जरुरी देखिन्छ जस्तो सर्ट पोजिसनको ब्यवस्था, ब्रोकरबाट नै मार्जिन ऋण सुविधा, सेयरमा पनि डेरिभेटिभ मार्केटको व्यवस्था, हेज फण्ड, विदेशी लगानीकर्तालाई नेपालि सेयर बजारमा लगानि गर्न पाउने जस्ता कुराहरुको नीतिगत व्यवस्था गनुपर्छ ।

 पछिल्लो समय बजार एउटै विन्दु वरीपरी घुम्नुले के इगिंत गर्छ ? 

बजार एउटै विन्दुमा धेरै समय कहिले रहँदैन  । बजारको सुन्दरता भनेकै बजार तल माथि जानु हो । तर अहिलेको बजार घटाई विस्तारै कम हुँदै गएको छ । बजार अब धेरै तल जादैन । जसले बजारमा अब पस्ने समय आएको संकेत गर्दछ । अहिले सेयर किनेर केहि समय  होल्ड गर्न सके फेरि बुल आउदा राम्रो कमाउने मौका बजारले नै दिन्छ ।

  तपाईको कम्पनीले सेयर बजारमा के कसरी लगानी गरिरहेको छ केहि कुरा बताइदिनुहोस न ?

हरेक व्यवसायका केही व्यावसायिक रणनीतिहरु हुन्छन र हाम्रो पनि सेयर बजार सम्बन्धी केहि आफ्नै रणनीति छन् त्यसैले व्यवसायिक रणनीति अलि भन्न नमिल्ला । तर पनि हामी अल्पकालिन लगानिको लागि प्राविधिक विश्लेषण गर्दै कारोबार गर्ने र दिर्घकालिन लगानिको लागि आधारभूत विश्लेषण गर्दे राम्रा कम्पनीहरुको प्रमोटर तथा सकेन्डरी सेयरहरुमा लगानी गर्दै अघि बढेका छौ ।

प्रतिक्रिया दिनुहोस्

Array