मानव विकासको प्रगति दासत्व तर्फ उन्मुख, २० लाख मानिस बाध्यात्मक विवाहमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ भाद्र २०७९, मंगलवार
3 Min Read
Aa

काठमाडौं–
युएनडीपीले पछिल्लो समग्र मानव विकास प्रतिवेदनमार्फत विश्वलाई नै कोभिड –१९ महामारीपछिको अवस्थामा नयाँ जटिलता र थप अनिश्चिततातर्फ धकेलेको परिदृश्य सार्वजनिक गरेको छ। विश्वकै मानव विकासको प्रगति लगातार दुई वर्षदेखि दासत्व तर्फ उन्मुख भएको प्रतिवेदनले चित्रण गरेको छ ।
आधुनिक दासत्व विश्वका लागि बढ्दो समस्याका रूपमा देखिएको संयुक्त राष्ट्रसंघको नयाँ प्रतिवेदनले जनाएको छ। सशस्त्र द्वन्द्व, जलवायु परिवर्तन र महामारीले आधुनिक दासत्वलाई बढाउन सहयोग गरेको उल्लेख छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओं) का अनुसार पाँच करोड मानिसहरू बाध्यकारी श्रम वा बाध्यात्मक विवाहमा रहेका छन्। अर्थात् हरेक १५० जीवित मानिसमध्ये एकजना आधुनिक दासत्व भोग्न बाध्य रहेका छन्।

३३ लाख बालबालिकासहित करिब दुई करोड ७६ लाख मानिस बाध्यकारी श्रममा रहेको प्रतिवेदनमा उल्लेख छ। त्यसमध्ये आधाभन्दा बढी व्यावसायिक यौन शोषणमा छन्। प्रतिवेदनअनुसार करिब दुई करोड २० लाख मानिस बाध्यात्मक विवाहमा फसेका छन्, जसमा दुई तिहाइभन्दा बढी महिला छन्। बाध्यकारी विवाहका पीडितहरूको विवाह हुँदाको उमेर १५ वर्षभन्दा कम थियो।

आधुनिक दासत्वमा रहन बाध्य मानिसको संख्या पछिल्लो पाँच वर्षमा एक करोडले बढेको हो। बाध्यकारी श्रम वा बाध्यात्मक विवाहको तथ्यांकले स्तब्ध बनाएको आइएलओले जनाएको छ।

आइएलओका अनुसार दासत्व गरिब देशमा मात्रै नभएर धनी ठूला शक्ति राष्ट्रमा गम्भीर समस्याका रूपमा पाइएको छ। आधाभन्दा बढी बाध्यकारी श्रम गर्न बाध्य मानिसहरू पश्चिमी विश्वमा छन्। अर्थात् धनी वा उच्च आय भएका देशमा बाध्यकारी श्रम प्रमुख समस्या देखिएको हो।

कोभिड(१९ महामारीले विश्वभरका मानिसमा सामाजिक अविश्वास बढ्नुका साथै असमानता र जलवायुजन्य विपदहरुले पनि प्रगतिमा अवरोध ल्याउने काम गरेको बताइएको छ। कोभिड महामारीका कारण मानव विकासमा यसअघि कहिल्यै नपुगेको धक्का लागेको उल्लेख छ।
यसैगरी रुस(युक्रेन युद्धले अझ बढी मानव प्रभावित भएको र त्यसले विश्वभरकै भू(राजनीतिक अवस्थालाई प्रभावित तुल्याएको बताइएको छ। कोभिड महामारीपछि हरेक व्यक्तिमा उदासिनता र निराशाको भाव देखिएको पनि प्रतिवदेनमा उल्लेख छ।

प्रतिवेदन अनुसार मानवताको सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको जलवायु र जैविक विविधता संकट, असमानता र राजनीतिक ध्रुवीकरणका साथै प्राविधिक उथलपुथलले पनि जटिल परिस्थिति निर्माणलाई मलजल गरिरहेको छ।

एक अर्कासँग जकडिएर रहेको अनिश्चितताहरुले विश्वमा आर्थिक संकटलाई निम्त्याएको र समाजमा नराम्रो प्रभाव पारिरहेको प्रतिवदेनले देखाएको छ।

रुस(युक्रेन युद्धले बजार मूल्य अत्यन्तै बढाइदिएको छ भने महँगी र खाद्य संकटले विश्वलाई गाँज्ने खतरा पनि उत्तिकै छ।

विश्वमा अनिश्चितता हुनु नौलो कुरा होइन तर मानव विकासको चरणमा हालसम्मै नदेखिएको जटिल अनिश्चितता यसपटक देखिएको प्रतिवदेनमा उल्लेख छ।

ग्लोबल सप्लाइ चेनमा देखिएको अवरोध मूल्यमा देखिएको उतारचढाव ऊर्जा, खाना, रसायनिक मल, दैनिक उपभोग्य वस्तु तथा अन्य सामाग्रीहरुको मूल्यवृद्धि पनि विश्वले सामना गरिरहनुपरेको छ। विश्वले खाद्यान्न संकट भोग्नुपर्ने वारम्बार चेतावनी दिइरहे पनि पछिल्लो समय रुस(युक्रेन युद्ध महामारी र बढ्दो तापक्रमले यस चुनौतीलाई अझ बढी बढाइरहेको देखिने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

Array