रूस, चीन र पाकिस्तानसँगको क्षेत्रीय शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री सहभागी हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ भाद्र २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उज्बेकिस्तानमा आयोजना हुने क्षेत्रीय शिखर सम्मेलनमा भाग लिने भएका छन् । रूसका अनुसार सम्मेलनमा भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वार्ता हुने भएको छ । चीन, रूस, मध्य एसियाका चार देश कजाकिस्तान, किर्गिस्तान, उज्बेकिस्तान र ताजिकिस्तान, भारत र पाकिस्तान सम्मिलित साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को सम्मेलन आगामी सेप्टेम्बर १५ र १६ मा उज्बेकिस्तानको समरकन्दमा हुने भएको हो ।

बुधबार चीनका लागि रूसका राजदूतले पुटिन र सीबीच शिखर वार्तामा भेट हुने बताएका थिए । यो कोरोना भाइरस महामारीको सुरुवाती दिनदेखि चिनियाँ नेताको पहिलो विदेश भ्रमण हुनेछ । बेइजिङको विदेश मन्त्रालयले तत्काल उक्त बैठकको पुष्टि गरेको छैन र एक प्रवक्ताले नियमित पत्रकार सम्मेलनमा यस विषयमा ‘कुनै जानकारी उपलब्ध गराउन नसकिने’ बताएका छन् ।

- Advertisement -
Ad image

भारत सरकारले पनि आइतबार जारी गरेको वक्तव्यमा मोदीले पुटिन, सी वा गत अप्रिलमा पाकिस्तानी प्रधानमन्त्री बनेपछि पहिलो पटक शहबाज सरिफसँग द्विपक्षीय वार्ता गर्ने वा नगर्ने भन्ने बारे केही बताएको छैन ।

चीनले जस्तै भारतले पनि युक्रेनमाथि मस्कोको आक्रमणसम्बन्धमा समर्थन वा विरोधमा केही बोलेको छैन भने रूसी तेलको खरिद बढाएको छ ।

सन् २०२० मा चीनसँगको विवादित सीमाक्षेत्रमा भएको झडपमा कम्तीमा २० भारतीय र चार चिनियाँ सैनिकको मृत्यु भएपछि भारत र चीनबीचको सम्बन्धमा केही चिसोपन आएको थियो । मोदी र सीबीच सन् २०१९ यता द्विपक्षीय वार्ता भएको छैन ।

भारत संयुक्त राज्य अमेरिका, जापान र अष्ट्रेलियासँगै तथाकथित क्वाडको एक हिस्सा पनि हो, जुन समूहलाई चीनविरुद्ध एक सुरक्षाकवचको रूपमा हेरिने गर्छ ।

एएफपी

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्