नागरिकता ऐनको संशोधन सम्बन्धि विधेयक बहुमतले पारित, अब सन्तानले आमा वा बाबुको थर रोज्न पाउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ श्रावण २०७९, शुक्रबार
3 Min Read
Aa

सरकारले पेसगरेको नागरिकता ऐनको संशोधन सम्बन्धि विधेयक आज प्रतिनिधि सभामा बहुमतले पारित भएको छ।
गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐनको संशोधन विधेयक पारित गर्ने प्रस्ताव प्रतिनिधि सभामा गरेका थिए।
अब यो विधेयक राष्ट्रिय सभाबाट पारित हुनुपर्नेछ | राष्ट्रिय सभा बाट पास भएपछि कानुन बन्नेछ।
प्रतिनिधि सभाबाट पारित भएको नागरिकता ऐनको संशोधन विधेयकले अब नागरिकता प्राप्त गर्न चाहने व्यक्तिले आमा वा बाबुको थर र ठेगाना रोज्न पाउने व्यवस्था गरेको छ । बाबुको थरकै अनिवार्य निरन्तरता हुने परम्परागत व्यवस्थालाई यसले अन्त्य गरेको छ |
यो बिधेयक राष्ट्रिय सभा बाट पास भएर कानून को रुपमा आएपछि, जन्मको आधारमा नागरिकता पाएका (जन्मसिद्ध नागरिकता भएका)का सन्तानले बंसजको आधारको नागरिकता प्राप्तगर्ने छन्। जन्मसिद्ध नागरिकका सन्तानले बिगत केहिबर्ष देखि कानूनको अभावमा नागरिकता पाएका छैनन्|
(२०४६ सालको चैत मसान्तभित्र नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गरिरहेकालाई यसअघि जन्मको आधारमा जन्मसिद्ध नागरिकता दिइएको थियो।)
अव गैरआवासीय नेपालीले समेत नागरिकता प्राप्त गर्न सक्नेछन। सार्क मुलुकमा बाहेकका विदेशमा रहेका कुनै पनि नेपालीका बावु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्नेछन्। तर सार्क मुलुकमा रहेका र बसोबास गरेका नागरिकहरूले यस्तो नागरिकता प्राप्त गर्न सक्ने छैनन्।
त्यसै गरि यो विधेयकमा आमाको नामबाट मात्र पनि नागरिकता प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। यसरी नागरिकता प्राप्त गर्न भने चार वटा शर्त भने विधेयकमा राखिएको छ। नेपालको नागरिक आमाबाट नेपालमा जन्म भएको, नेपालमा नै बसोबास गरेको, बाबुको पहिचान हुन नसकेको र त्यस्तो पहिचान हुन नसकेको भन्दै स्वघोषणा गर्ने व्यक्तिले आमाको नामबाट मात्र वंशजको नागरिकता प्राप्त गर्न सक्नेछ।
त्यस्तै नेपाली महिला नागरिकले विदेशी पतिबाट जन्माएका सन्तानले अंगीकृत नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको छ । विदेशी पतिबाट नेपाली आमाले जन्माएका सन्तानले अंगीकृत नागरिकता पाउन पनि नेपालमै बसोबास गर्नुपर्ने र बावुको देशको नागरिकता लिएको हुनुहुने छैन।
विदेशी नागरिक र नेपाली महिला नागरिकबाट नेपालमा जन्मिएको व्यक्तिले नागरिकता प्राप्त गर्दा उसको बुवा र आमा दुबैले नेपाली नागरिकता लिएको अवस्थामा भने वंशजको आधारमा नागरिकता दिने व्यवस्था गरिएको छ।

त्यस्तै आमा बुबाको ठेगान नभएको अवस्थामा नागरिकता प्राप्त गर्न बालमन्दिर, अनाथालय जस्ता नेपाल सरकारद्वारा मान्यता प्राप्त संस्थामा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस र सोको आधारमा सम्बन्धित स्थानीय तहले गरेको सिफारिस पेश गर्नुपर्नेछ।
त्यस्तै कानुनी संरक्षकले हुर्काएको भए संरक्षकले सनाखत गर्नुपर्नेछ। साथै स्थानीय तहको सिफारिस पनि आवश्यक हुनेछ। र अन्य तरिकाले हुर्केको भए सम्बन्धित स्थानीय तहको सिफारिस भए पनि नागरिकता प्राप्त गर्न सक्नेछ।

प्रतिक्रिया दिनुहोस्

Array