सेयर ब्रोकर कमिसन र आस्वा शुल्क घटाउन सिफारिस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ श्रावण २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आन्तरिक रुपमा गठन गरको अध्ययन समितिले सेयर ब्रोकरको कमिसन र आस्वा शुल्क घटाउन सिफारिस गरेको छ । धितोपत्र बजारमा प्राथमिक सार्वजनिक निष्कासनदेखि लगानीकर्ताले दोस्रो बजारमा कारोबार गर्दा लाग्ने शुल्कसम्मको अध्ययन गर्न भन्दै बोर्ड अध्यक्ष रमेश हमालले आन्तरिक रुपमा अध्ययन गर्न एउटा समिति गठन गरेको थिए । उक्त अध्ययन समितिले प्रतिवेदन बोर्ड अध्यक्षलाई बुझाएको हो ।

प्रतिवेदनमा सार्वजनिक निष्कासनमा बैंकहरुले लिने आस्वा शुल्कदेखि सेयर ब्रोकरले लिने कमिसन शुल्क घटाउन सकिने आधार सहित पेश गरेको स्रोतले जनाएको छ । यस बाहेक सीडीएस एन्ड क्लियरिङले दोस्रो बजार कारोबारमा लिने प्रतिकारोबार शुल्कको विषयमा समेत अध्ययन गरेको छ ।

बोर्डका उपकार्यकारी निर्देशकको संयोजकत्वमा भएको अध्ययन समितिले कमिसन र आस्वा शुल्क समायोजन गर्दा लगानीकर्तालाइ राहत हुने भन्दै उक्त शुल्क घटाउन सकिने आधार समेत प्रतिवेदन उल्लेख गरेको छ । अहिले प्राथमिक सार्वजनिक निष्कासन गर्ने कम्पनीको सर्वसाधारण लगानीकर्ताबाट उठाउने शुल्क भन्दा त्यसमा आवेदन दिने लगानीकर्ताबाट आस्वा सेवा वापत बैंक तथा वित्तीय संस्थाले लिने शुल्क बढी रहेको छ ।

आईपीओ भर्दा २६ मध्ये ३ वटा वाणिज्य बैंक बाहेक सबै बैंकले आश्वा शुल्क लिने गरेका छन् । नबिल, एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंकबाट आईपीओ भर्दा आश्वा शुल्क लाग्दैन । १० वटा बैंकबाट १० रुपैयाँ शुल्क लाग्छ भने ग्लोबल आईएमई बैंकले १५ रुपैयाँ लिदै आएको छ । ७ वटा बैैंकले २० रुपैयाँ र ४ वटा बैंकले २५ रुपैयाँ लिदा स्ट्यान्डर्ड चाटर्ड बैंकले १०० रुपैयाँ शुल्क लिदै आएको छ ।

यसरी सार्वजनिक निष्कासनमा आवेदन दिनेले हरेक पटक शुल्क तिर्नुपर्ने हुन्छ । लघुवित्त, हाइड्रोपावर लगायतका कम्पनीहरुले पछिल्लो समय १० करोडभन्दा कमको आईपीओ निष्कासन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: