जनताको आक्रोश विस्फोटमा परिणत हुदा यसरी भयो श्रीलंकामा राजपक्ष युगको अन्त्य

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ असार २०७९, सोमबार
9 Min Read
Aa

काठमाडौं । श्रीलंकामा लामो समयदेखि चलिरहेको आर्थिक संकटका कारण जनतालाई जीवन चलाउनै धौधौ परेपछि उनीहरूको आक्रोश विस्फोट भएको छ ।

शनिवार (९ जुलाईमा) आक्रोशित जनता राष्ट्रपति निवासमा प्रवेश गरेर त्यहाँ कब्जा गरी बसेका छन् भने प्रधानमन्त्रीको निजी निवास जलाइदिएका छन् । आन्दोलनकारीहरू आइतवार पनि राष्ट्रपति निवास ओगटेर बसेका छन् । उनीहरूले त्यहाँ करोडौं रुपैयाँ फेला पारेको दाबी गरेका छन् ।

राष्ट्रपति गोटाबाया राजपक्ष कहाँ छन् भन्ने खुलेको छैन । तर उनले संसद्का सभामुख महिन्दा यापा अबेवर्दनासँग अज्ञात स्थानबाट सम्पर्क कायम गरेका छन् । राष्ट्रपतिले बुधवार (१३ जुलाईमा) राजीनामा दिने जानकारी सभामुखले दिएका छन् । महिन्दा राजपक्षे राजीनामा दिएर भागेपछि जलसेनाको अड्डामा लुकेका थिए र गोटाबाया पनि सम्भवतः त्यहीँ छन् ।

राष्ट्रपति राजपक्ष र प्रधानमन्त्री रनिल विक्रमसिंघेले राजीनामा दिने खबर आएपछि श्रीलंकाली जनताले हर्षबढाइँ गरेका छन् । उक्त खबरपछि श्रीलंकाका सडकहरूमा शान्ति फर्किएको स्थानीय सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।

विगत २० वर्षदेखि श्रीलंकाको शासनमा पकड बनाइरहेको राजपक्ष परिवार नै देशमा चलिरहेको आर्थिक संकटको मुख्य जिम्मेवार तत्त्व हो । उनीहरूलाई हटाउनका लागि धरातलमा लगातार चलिरहेको आन्दोलन बल्ल सफल हुन लागेको देखिन्छ ।

विगत २० वर्षदेखि श्रीलंकाको शासनमा पकड बनाइरहेको राजपक्ष परिवार नै देशमा चलिरहेको आर्थिक संकटको मुख्य जिम्मेवार तत्त्व हो । उनीहरूलाई हटाउनका लागि धरातलमा लगातार चलिरहेको आन्दोलन बल्ल सफल हुन लागेको देखिन्छ ।

राजपक्ष परिवार श्रीलंकाको राजनीतिमा बेलायती उपनिवेशको पालादेखि नै सक्रिय छ । देशको दक्षिणी भागमा रहेका विशाल खेतहरूमा धान र नरिवल फलाउँदै त्यसको व्यापार गरेर धनी भएको राजपक्ष परिवारले सन् १९३० को दशकमा स्थानीय राजनीति आरम्भ गरेको थियो ।

समय बित्दै जाँदा यस सामन्ती परिवारले स्थानीयबाट केन्द्रीय सत्तासम्म आफ्नो शक्ति विस्तार गर्दै लगेको थियो । शहरी क्षेत्रमा तीनवटा प्रधानमन्त्री र एक राष्ट्रपति दिने बन्दरानायके परिवार शक्तिशाली थियो भने ग्रामीण क्षेत्रमा राजपक्ष परिवारको प्रभुत्व थियो ।

तर सन् २००५ मा महिन्दा राजपक्ष राष्ट्रपति निर्वाचित भएपछि चाहिँ यस परिवारले समग्र श्रीलंकाली राजनीतिमा हालीमुहाली नै गर्न थाल्यो । नियम कानूनलाई एकातिर पन्छाएर यस परिवारले आफ्नो सञ्जाललाई पोस्ने नीति अपनाउन थाल्यो ।

महिन्दाका भाइ गोटाबाया त्यतिखेर सैन्य अधिकृत थिए । महिन्दाले उनलाई आफ्नो मन्त्रिमण्डलमा समावेश गरी रक्षामन्त्री बनाए । अन्य भाइहरू बेसिल र चमाललाई पनि महिन्दाले मन्त्री बनाए । महिन्दाका ३३ वर्षीय छोरा योषिता मुख्यसचिव बने ।

राजपक्ष परिवार शक्तिशाली बन्दै गएको बेलामा श्रीलंकामा गृहयुद्ध मच्चिएको थियो । सिंहाली जातिको प्रभुत्व रहेको सरकार र पृथक्तावादी समूह लिबरेसन टाइगर्स अफ तलिम ईलम (लिट्टे) बीचको गृहयुद्ध दशकौंसम्म चल्यो ।

श्रीलंकामा लगभग ७५ प्रतिशत जनसंख्या सिंहाली छन् भने १५ प्रतिशत जति तमिल छन् । राजपक्ष परिवारले बहुसंख्यक सिंहालीहरूको प्रतिनिधित्व गर्दै उग्रजातीयतालाई प्रोत्साहन गरेको थियो । सत्तामा पकड कायम राख्नका लागि जातीय ध्रुवीकरणमा महिन्दा राजपक्षले जोड दिएका थिए ।

सन् २००९ मा महिन्दा र भाइ गोटाबाया मिलेर २६ वर्षदेखि चलिरहेको गृहयुद्ध हिंस्रक सैन्य कारवाहीमार्फत अन्त्य गराउन सफल भएका थिए । उक्त कारवाहीमा व्यापक युद्धअपराध गरिएको बताइन्छ । लडाइँका अन्तिम साताहरूमा लगभग ४० हजार तमिल सर्वसाधारणको हत्या गरिएको अनुमान छ ।

तमिल पृथक्तावादीहरूलाई हराएपछि सिंहाली जातिमाझ राजपक्ष परिवारको प्रभाव झनै बढेर गएको थियो । जातीय ध्रुवीकरणलाई मलजल गर्ने यस परिवारको लोकप्रियतालाई युद्धमा प्राप्त विजयले झनै विस्तार गरेको थियो ।

युद्धको विजयोन्मादमा राजपक्ष परिवारले सत्ताको दुरुपयोग गर्दै भ्रष्टाचारका अनेकौं काण्ड मच्चायो । परिवारका सबै सदस्यले राज्यसत्ताको चरम दोहन गर्दै निजी लाभ लिन थालेका थिए । बन्दरगाह, सडक, भवन जस्ता पूर्वाधार तथा विभिन्न वस्तुको व्यापारमा राजपक्ष परिवारकै रजगज चलेको थियो ।

राम्रो प्रतिफल नआउने विशाल परियोजनामा लगानी गरेर राजपक्ष परिवारले देशको अर्थतन्त्रलाई क्रमशः खोक्रो बनाउँदै लगेको थियो । दक्षिण एसियाकै सबभन्दा अग्लो टावर बनाउने काम त्यस्तो खराब लगानीको एक उदाहरण हो । अहिले त्यो टावर पूरै खाली र बेकामे छ ।

पछिपछि यस्तो अनुत्पादक लगानी गरेर राजपक्ष परिवारले आफूलाई झन् झन् धनी बनाउँदै लगेको आभास जनताले गर्न थालिसकेका थिए । देशको स्रोत दुरुपयोग गरी आफ्नो खल्ती भर्ने काम राजपक्ष परिवारले गरिरहेको कुरा स्वतन्त्र अनुसन्धान संस्थाका प्रतिवेदनले औंल्याएका छन् ।

महिन्दा राजपक्षलाई हराएर राष्ट्रपति बनेका मैत्रीपाला सिरिसेनाको सरकारले राजपक्षेहरूको सम्पत्ति छानबिनका लागि समिति बनाएका थिए । त्यतिखेर सन् २०१३ मा मात्र राजपक्ष परिवारले साढे ५ अर्ब डलर विदेश पुर्‍याएको अनुमान थियो । त्यो दरले यत्तिका वर्षमा राजपक्ष परिवारले अर्बौं अर्ब रुपैयाँ विदेशमा लुकाएर राखेको हुन सक्ने देखिन्छ ।

सिरिसेनाको सरकारमा राजपक्षका बफादार रनिल विक्रमसिंघे प्रधानमन्त्री थिए । सिरिसेना र विक्रमसिंघेबीच मतभेद भएपछि महिन्दा राजपक्ष तिकडम गरेर प्रधानमन्त्री बनेका थिए ।

उनी प्रधानमन्त्री बनेको एक वर्षपछि श्रीलंकामा क्रिस्चियनहरूको पवित्र चाड ईस्टर सन्डेका दिन भयानक बम विस्फोटहरू भएका थिए । इस्लामी अतिवादी समूहले गराएको उक्त बम विस्फोटमा परी २७० जनाको मृत्यु भएको थियो । उक्त दुःखद घटनालाई राजपक्ष परिवारले सत्तामा फर्किने अवसरका रूपमा लियो ।

देशमा चलेको पृथक्तावादी आतंकवादी गतिविधिलाई आफूले परास्त गरेको उदाहरण दिँदै राजपक्ष परिवारले इस्लामी आतंकवादलाई पनि आफूहरूले नै हराउने आश्वासन जनतालाई दिएको थियो । दृढ इच्छाशक्ति भएको नायक अहिलेका लागि देशको आवश्यकता हो भन्ने भाष्यलाई उनीहरूले जनतामाझ राख्न सफलता पाए ।

फलस्वरूप, सन् २०२० मा भएको आमनिर्वाचनमा गोटाबाया राजपक्ष राष्ट्रपति निर्वाचित भए । उनले आफ्ना दाजुभाइलाई शक्तिशाली पदमा नियुक्त गरे । महिन्दा पुनः प्रधानमन्त्री बने ।

त्यसपछि राजपक्ष सरकारले लगातार गलत निर्णयहरू लिँदै गयो । व्यापारीलाई पोस्ने गरी करको दरमा छुट दिएपछि देशको राजस्व घट्यो । मूल्य अभिवृद्धि कर एकैचोटि १५ प्रतिशतबाट घटाएर ८ प्रतिशतमा झारियो ।

अनि कृषकहरूसँग सल्लाह नगरी अचानक रासायनिक मलमा प्रतिबन्ध लगाएपछि उत्पादनमा समस्या आयो । प्रांगारिक खेतीमा जाने निर्णय लिएको ६ महिनामा बालीनाली फस्टाउन नसकेपछि कुनै समयमा धान उत्पादनमा आतमनिर्भर मुलुक विदेशबाट ६० करोड डलरभन्दा बढीको चामल भित्र्याउन बाध्य भयो । अझ त्यसमाथि किसानलाई लागेको घाटाको क्षतिपूर्ति दिनका लागि राज्यकोषको अर्बौं रुपैयाँ खर्च भयो ।

त्यसबाहेक राजपक्ष सरकारले अन्धाधुन्ध तरिकाले विदेशी मुलुकहरूसँग ऋण लिएर अर्थतन्त्रलाई थप लुलो बनायो । त्यसरी लिएको ऋण उत्पादनशील क्षेत्रमा नलगाएकाले त्यसबाट प्रतिफल आउन सकेन । एक ठाउँबाट लिएको ऋण तिर्न अर्को ठाउँबाट ऋण लिने दुष्चक्र सरकारले निर्माण गर्‍यो ।

आफ्नो कुल २५ अर्ब डलर विदेशी ऋणमध्ये लगभग ७ अर्ब डलर ऋण सन् २०२२ मा मात्र श्रीलंकाले तिर्नुपर्ने बाध्यता छ । त्यसमाथि कोभिड र त्यसअघिको आतंकवादी आक्रमणका कारण पर्यटन सुस्त भएपछि अनि विप्रेषण पनि घटेपछि विदेशी मुद्रा सञ्चितिमा भयंकर कमी आएको छ । विदेशबाट सामान आयात गर्नका लागि आवश्यक पैसा नै सरकारसँग छैन ।

राजपक्ष परिवारका यी नीतिगत त्रुटिहरूका कारण खाद्यान्न, तेल, ग्यास, बिजुली र औषधि समेतको चरम अभाव भयो । दुईतिहाइ जनता दिनदिनै आफ्नो एक छाक कटाउन बाध्य भए ।

अत्यावश्यक वस्तु किन्नका लागि लामो लाइनमा बस्नुपर्दा कैयौं जनताको अकाल मृत्यु भयो । यसले सामान्यजनलाई आक्रोशित बनाउनु स्वाभाविक थियो ।

आक्रोश विस्फोट भएर हिंसात्मक प्रदर्शन भएपछि महिन्दा राजपक्षले राजीनामा दिए । उनको ठाउँमा राजपक्ष परिवारका निकट मानिने रनिल विक्रमसिंघेलाई ल्याइएकाले जनता असन्तुष्ट थिए । विक्रमसिंघेले कुनै चमत्कार गर्न सक्ने स्थिति नरहेकाले पीडित बनेका जनता उनको घर जलाउन पुगेका हुन् ।

राजपक्ष परिवार र त्यससँग जोडिएका जोकोहीलाई पनि जनताले अब सहन नसक्ने स्थिति आएको छ । कुनै समयमा तमिल पृथक्तावादीलाई हराएका अनि सुरक्षा प्रत्याभूति जनतालाई दिलाउँछु भनेर नायक बनेका राजपक्ष जनताको पेट काट्न तयार भएपछि उनीप्रति सिंहालीहरूको समेत मोहभंग भएको हो ।
बुधवार गोटाबायाले राजीनामा दिने भनेका छन् । संविधानतः उनीपछि राष्ट्रपति बन्ने मर्यादाक्रममा सभामुख छन् ।

सभामुखले अन्तरिम शासन चलाएमा संसद्ले एक महिनाभित्र गोप्य मतदानमार्फत नयाँ राष्ट्रपति छान्नुपर्ने हुन्छ । त्यसका लागि कुनै पनि सांसद योग्य ठहर्छ र निर्वाचित भएमा सन् २०२४ सम्म उसैले कार्यकाल चलाउँछ । तर जनताले त्यसअगावै राष्ट्रपति निर्वाचन गरी राजपक्ष परिवारसँग कतैबाट पनि नजोडिएको व्यक्ति निर्वाचित हुनुपर्ने माग राखेका छन् ।

विपक्षी दलहरूले आइतवार बैठक गरेर राष्ट्रपति उम्मेदवार छान्ने बताएका छन् । नयाँ राष्ट्रपतिलाई वर्षौंदेखि राजपक्ष परिवारले बिगारेको अर्थतन्त्र सही ट्य्राकमा ल्याउन सहज हुने छैन । लामो समय शासन चलाउँदा राजपक्षे परिवारले आफ्ना वफादारहरूलाई नियुक्त गरेकाले ती वफादारले नयाँ राष्ट्रपतिलाई भरपूर सहयोग गर्ने पनि कुनै ग्यारेन्टी छैन ।

सेनाले कू गरी सत्ता हातमा लिने सम्भावना चाहिँ देखिन्न । सेनाले जनतालाई शान्तिबहाल गर्न अपील गरेको छ । राजपक्षले राजीनामा दिने भनेपछि जनता पनि धेरै हदसम्म शान्त भएका छन् । एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

Array