एमालेबाट सरकारमा गएका पुर्व अर्थमन्त्री माथि पनि भएको थियो संसदीय छानबिन, दिएका थिएनन् राजीनामा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ असार २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं । निर्माणका क्रममा असम्बन्धित व्यक्ति सहभागी भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा र संसदीय छानबिन समिति गठनको माग गरे पछि अर्थमन्त्री जनार्धन शर्माले पदबाट राजिनामा दिएर छानविन समितिलाई सघाउने बताएका छन।

तर, झलनाथ खनाल नेतृत्वको तत्कालीन एमाले सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले २०६८ असार ३० गते संसद्मा बजेट भाषण पेश गरिरहेको समयमा त्यो बेला प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट पहिलै चुहिएको आरोप लगाएर छानबिनको माग गरेको थियो ।

अर्थमन्त्री अधिकारीले बजेट वाचन गरिरहेको समयमा नेपाली कांग्रेसका सांसद रमेश लेखकले एउटा पत्रिका देखाउँदै सबै कुरा आइसकेको प्रमाण देखाएका थिए । कांग्रेसले अर्थमन्त्रीलाई बजेट भाषणमा पटक–पटक अवरोध गरेपछि तत्कालीन सभामुख सुवास नेम्वाङले बजेट भाषण पढेर सिध्याउन दिन रुलिङ गरेका थिए ।

कांग्रेसको मागपछि नेपाली कांग्रेसका तत्कालीन प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरेको संयोजकत्वमा समिति गठन गरिएको थियो । बजेट चुहिएको विषयमा संसदीय छानबिन समिति गठन भएपनि तत्कालिन अर्थमन्त्री अधिकारीले राजीनामा गरेका थिएनन् ।

बजेट भाषण तयार भएपछि वाचन नगर्दै अर्थ मन्त्रालयको साइटमा अपलोड भएको त्यो बजेट प्राविधिक कमजोरीका कारण चुहिएको समितिले निष्कर्ष निकालेको थियो ।

बजेट बनाउँदा र छपाइको क्रममा सावधानी अपनाउन सो संसदीय समितिले निर्देशन दिएको थियो ।
त्यस्तै विक्ष्णुप्रसाद पौडेल अर्थमन्त्री हुँदा चकलेट लगायतका वस्तुमा कर कम गरेर आफ्ना घरानाकालाई सहयोग गरेको विषयमा संसदमा व्यापक कुरा उठेको भएपनि उनले राजिनामा दिएनन ।

चालू आर्थिक वर्षको बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्ति सहभागी भएको दाबीसहित एमालेले संसदीय छानबिन समिति गठनको माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array