माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकताको तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० असार २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावअघि नै पार्टी एकता गर्ने तयारी गरेका छन् । पछिल्लो समय माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुबीच चुनावअघि नै पार्टी एकता गर्ने विषयमा छलफल भइरहेको र छलफल सकारात्मक रहेको नेताहरुले बताएका छन् ।

यसअघि कांग्रेस बाहेक सत्ता गठबन्धनमा रहेका दलहरुले छुट्टै गठबन्धन बनाउने विषयमा कुराकानी अघि बढाएका थिए । अहिले उनीहरुको संवाद चुनावअघि कम्तीमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकता गरेर अघि बढ्ने बिषयमा केन्द्रित छ ।

आइतबार ललितपुरको सातदोबाटोस्थित एक घरमा भएको तत्कालिन नेकपाका पाँच जना सचिवालय सदस्यहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल र भर्खरै नेकपा एकता राष्ट्रिय अभियान खोलेर त्यसको संयोजक बनेका वामदेव गौमतबीच छलफल भएको थियो ।

उक्त भेटमा चुनावअघि दुई पार्टीको एकता गर्ने विषयमा गम्भीर छलफल भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
छलफलमा सकेसम्म चुनावअघि नै दुई पार्टीबीच एकता गर्ने, एकता सम्भव भएन भने संयोजन समिति बनाएर अघि बढ्ने भन्ने कुरा भएको छ’, श्रेष्ठले भने ।

छलफलमा नेताहरुले वामपन्थी शक्तिहरु कमजोर हुँदा राष्ट्रियता धरापमा परेको भन्दै वामपन्थी ध्रुवीकरण आवश्यक परेको निष्कर्ष निकालेका थिए । ‘अहिले राष्ट्रियता धरापमा छ, यसले गम्भीर संकट निम्त्याउन सक्छ,’ बैठकको निष्कर्ष सुनाउँदै श्रेष्ठले भने,‘त्यसो गर्दा वामपन्थी शक्तिहरुले एकता, ध्रुवीकरण र मोर्चाबन्दीको प्रक्रिया अघि बढाउनुपर्छ र त्यो बढाउने हो भने तत्काल कमसेकम एकीकृत समाजवादी र हाम्रो पार्टीबीच एकता गर्ने प्रक्रिया अघि बढाऔं र त्यसपछि अरुलाई आह्वान गरौं भन्ने निचोडमा पुगेका छौं ।’ उनका अनुसार यो चुनावमा वाम एकता सम्भव नभए वाम तालमेलको अवस्थासम्म पुर्‍याउनुपर्ने निष्कर्षमा नेताहरु पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्