प्रचण्डका कारण माओवादीको पदाधिकारी चयन टुंगो लागेन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० असार २०७९, शुक्रबार
3 Min Read
Aa

काठमाण्डौ – नेकपा माओवादी केन्द्रको पदाधिकारी चयन अन्यौलमा परेको छ । महाधिवेशन भएको ६ महिना लाग्दा पनि माओवादीले पार्टीका केन्द्रीय पदाधिकारी चयन गर्न नसकेको हो ।

माओवादीमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ । माओवादीको पुस १८ गते सकिएको महाधिवेशनले २ सय ३६ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो ।

सोही केन्द्रीय समितिले पुस २० मा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुन अध्यक्ष निर्वाचित गरेको थियो । बाँकी केन्द्रीय सदस्य र पदाधिकारी पछि छान्ने तय भएपनि ६ महिनासम्म पदाधिकारीले पूर्णता पाएको छैन ।

पदाधिकारी छान्न नसकेको विषयमा पार्टीभित्र र बाहिर चर्को आलोचना भइरहेको छ । पार्टीभित्र धेरै आकांक्षी देखिएपछि पदाधिकारी चयनमा सकस भएको हो । प्रचण्डले निर्वाचन गराउन नचाहने र निर्णय पनि दिन नसक्दा पदाधिकारी चयनमा समस्या आएको नेताहरू बताउँछन् ।

माओवादी विधानमा केन्द्रीय सदस्यहरूको मतदानबाट पदाधिकारी चयन हुने व्यवस्था छ । तर, प्रचण्ड निर्वाचनबाट पदाधिकारी छान्ने पक्षमा देखिएका छैनन् ।

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महराले दाबी गरेका छन् । यसबाहेक उपाध्यक्षमा गिरिराजमणि पोखरेल, गणेश साह, हरिबोल गजुरेल, देव गुरुङ, पम्फा भुसाल, लिलामणि पोखरेल, मातृका यादव आकांक्षी छन् ।

उपाध्यक्ष र सचिवमा खासै समस्या नभए पनि महासचिव पदमा भने प्रचण्डलाई मिलाउन चुनौती छ । प्रचण्डका विश्वासपात्र मानिने वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्मा ‘प्रभाकर’ महासचिवका मुख्य दाबेदार छन् ।

प्रचण्डले उनीहरूमध्ये एक जनालाई उपाध्यक्षमा जान आग्रह गरे पनि दुवैजना मान्न तयार छैनन् । उनीहरूले बरु निर्वाचनमा जान तयार तर महासचिवबाट पछाडि नहट्ने बताउँदै आएका छन् ।

दुवैले आफूलाई प्रचण्डको उत्तराधिकारी दाबी गर्दै आएका छन् । गुट र विभाजनबाट पार्टी कमजोर बनेको अवस्थामा प्रचण्ड शर्मा वा पुनमध्ये एकको पक्षमा बोल्न नसकेको माओवादीका एक नेताले बताए ।

शर्मा र पुन माओवादीभित्र दुई गुटको समेत नेतृत्व गर्छन् । नियुक्तिदेखि निर्वाचनमा उमेदवार चयनसम्म शर्मा र पुनको समेत भागबन्डा हुने गरेको छ । पछिल्लो समय जनवर्गीय संगठनमा पनि दुवै नेताहरू निकटलाई अवसर दिने गरिएको छ ।

माओवादीले असार १५ गते केन्द्रीय समिति बैठक बोलाएको छ । सो बैठकमा राजनीतिक समीक्षासँगै पदाधिकारी चयनको विषय उठ्ने ती नेताले बताए । तर, प्रचण्ड संघ र प्रदेशको चुनावअघि पदाधिकारी चयनको मुडमा छैनन् ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: