अर्थतन्त्रमा संकट निम्त्याउने राजस्व नीति, राजस्व संकलनको लक्ष्य पुरा नहुने संकेत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ असार २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं । बजेटमार्फत् अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षमा २० प्रतिशतले आयात घटाउने घोषणा गरेको छ । यस्तै, धान, मकै, गहुँ तरकारी र फलफुलको आयात ३० प्रतिशतले घटाउने सरकारको योजना छ ।
तर, आयात घटाउने लक्ष्य लिँदै बजेट निर्माण गरेको सरकारले भन्सार विन्दुमा चालु आवमाभन्दा २६ प्रतिशत बढी राजस्व संकलन गर्ने लक्ष्य दिएको छ ।

चालु आवमा अर्थ मन्त्रालय ११ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, बजेटमार्फत् अर्थ मन्त्रालयले चालु आवमा ११ खर्ब ५२ अर्ब रुपैयाँ राजस्व संकलन हुने लक्ष्य लिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार असार ६ गतेसम्म ९ खर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । संशोधिन लक्ष्यअनुसार राजस्व संकलन हुन पनि आगामी २४ दिनमा २ खर्ब २ अर्ब रुपैयाँ राजस्व संकलन हुनुपर्छ । जुन सम्भव नभएको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

आगामी आवमा ८ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको सरकारले १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । सरकारको आर्थिक वृद्धिको लक्ष्य हाँसिल हुने गरी कर्जा बिस्तार गर्ने स्पेस नभएको अवस्थामा राजस्व लक्ष्य संकलन हाँसिल गर्न पनि विदेशी मुद्राको सञ्चिति अभाव देखिन्छ ।

चालु आवमा भन्सार विभागको राजस्व लक्ष्य ५ खर्ब ३० अर्ब रहेकोमा आगामी आवमा लागि विभागलाई ६ खर्ब ६८ अर्ब रुपैयाँको लक्ष्य दिइएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४ खर्ब ४६ अर्ब राजस्व संकलन गरेको विभागले यो वर्ष नै लक्ष्यअनुसार राजस्व संकलन गर्ने सम्भावना नरहेको भन्सार विभागका अधिकारी बताउँछन् ।


अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाका एक अधिकारी आगामी आवमा राजस्व संकलन हुन सक्ने सम्भावना भन्दा पनि अर्थमन्त्रीको निर्देशनमा राजस्व संकलनको लक्ष्य निर्धारण गरिएको बताउँछन् ।

विदेशी मुद्राको सञ्चिति घट्दो क्रममा छ भन्ने हामीलाई राम्रोसँग थाहा छ,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘तर, राष्ट्रिय योजना आयोगले नै हचुवाका भरमा १७ खर्ब ५० अर्बको बजेट सिलिङ लिएपछि राजनीतिक नेतृत्वले पनि बजेटको आकार बढायो । जसले गर्दा हचुवाका भरमा राजस्व लक्ष्य तय गरिएको हो ।’

प्रतिक्रिया दिनुहोस्

Array