दुईजना चिकित्सकको भरमा गुल्मी अस्पताल, उपकरण छन् जनशक्ति टिक्नै मान्दैनन् !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ असार २०७९, सोमबार
7 Min Read
Aa

काठमाडौं । गुल्मीको रेसुंगा नगर कार्यपालिकाको पहिलो बैठकले गुल्मी अस्पतालमा मिर्गौलाको डायलाइसिस सेवा सुरु गर्ने निर्णय गर्‍यो । केही समयमै करिब ५० लाखको उपकरण खरिदको प्रक्रिया अगाडि बढ्ने मेयर खिलध्वज पन्थीले बताए । डायलाइसिस मेसिन खरिद गरेर गुल्मी अस्पतालबाट सेवा दिने नगर कार्यपालिकाको पहिलो निर्णयले स्थानीय उत्साहित छन् । तर, उपकरण आफैँ सञ्चालन हुँदैनन्, जनशक्ति छैन । भएकाले अस्पताल आउने नियमित बिरामी हेरेरै सक्दैनन्।

न्यून जनशक्तिका बीच अस्पताललाई निरन्तर सेवा प्रवाहमा समस्या भइरहेको छ । अहिलेकै अवस्थामा थपिने उपकरण र त्यसको गुणस्तरीय सेवा प्रवाह कसरी होला । गतिलो उदाहरण गुल्मी अस्पतालमै छ । गुल्मी अस्पतालमा आइसियू सञ्चालनका लागि बजेट विनियोजन भएको एक वर्ष भयो । सरकारको यो निर्णयको पनि सबैले स्वागत गरे । भवन बन्यो । उपकरण पनि आए । तर, विशेषज्ञ डाक्टर नहुँदा सञ्चालनमा अन्योल देखिएको छ ।

गुल्मी अस्पतालमा डाक्टर, नर्स छन् । उनीहरू नियमित सेवामा व्यस्त छन् । त्यसमाथि आइसियूको ज्ञान उनीहरूसँग छैन । त्यसबाहेक गुल्मी अस्पतालमा एचडियू सञ्चालन भएका एक वर्ष भयो । अस्पताललाई त्यही एचडियुूकै लागि पर्याप्त जनशक्ति छैन। जसका कारण थपिने उपकरणको सञ्चालन र प्रभावकारितामा प्रश्न उठिरहेका छन् । केन्द्रमा महत्व राख्ने थुप्रै मन्त्री, सांसद तथा नेताहरू यस जिल्लामा रहेका छन् । तर, सबै भौतिक पूर्वाधारकेन्द्रित देखिए । जिल्लाको सयौँ जनताले उपचार गर्ने अस्पतालमा वर्षौँदेखि एकबाहेकका अरू डाक्टरलगायतका जनशक्ति व्यावस्थापन गर्न नसक्नु दुःखद पक्ष भएको युवा व्यवसायी जनक पन्थले गुनासो गरे ।

विशेषज्ञविनाको डायलाइसिस जोखिमपूर्ण छः प्रा.डा. ज्ञवाली

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका सहायक डिन युरोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक प्राध्यापक डाक्टर प्रेम ज्ञवालीले विशेषज्ञविनाको डायलाइसिस जोखिमपूर्ण हुने बताए । उनले उपकरणअनुसारको जनशक्तिको व्यावस्थापन पहिले नै गर्नुपर्ने सुझाव दिए । ज्ञवालीका अनुसार सेटिङ भएपछि नर्सहरूले पनि उपकरण सञ्चालन गर्न सक्छन् ।

तर, डायलाइसिसकै क्रममा बिरामीलाई थुप्रै समस्या आउने भएकाले तत्काल अरू उपचार र व्यवस्थापन नर्सहरूको पहुँचबाहिरको कुरा भएकाले विशेषज्ञ आवश्यक हुने बताए । ‘जिल्लामै डायलाइसिस उपकरण खरिद र सेवा प्रवाह लोकप्रिय निर्णय हो । तर, दक्ष जनशक्तिविनाको सेवाले बिरामीको ज्यान नै खतरामा पर्छ,’ उनले भने, ‘जनशक्ति नहुँदा गुल्मीकै आइसियू चलेन, कोभिड प्रयोगशालाकै विषयमा सबै जानकार छौँ ।’ डायलाइसिस मिर्गौला फेल भएपछि प्रत्यारोपण नहुने वा मृत्यु नहुने वेलासम्म निरन्तर गरिन्छ । जिल्लामा जनशक्तिकै व्यवस्थापन गरेर सेवा सञ्चालन भए बुटवल काठमाडौं पुग्न नपर्ने ज्ञवालीले बताए ।

अस्पतालमा ५९ दरबन्दी, तर १७ जना कार्यरत

गुल्मी अस्पतालमा स्थायी दरबन्दी ५९ जनाको हो । तर, अहिले १७ जना मात्र स्थायी दरबन्दीका जनशक्ति अस्पतालमा कार्यरत छन् । अस्पतालमा विशेषज्ञ डाक्टरको १० स्थायी दरबन्दी छ । तर, स्थायी दरबन्दीमा विशेषज्ञ डाक्टरको रूपमा लामो समयदेखि निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर उत्तम पच्या मात्रै कार्यरत छन् ।

पछिल्लो समय छात्रवृत्ति करारका एकजना विशेषज्ञ छन् । अस्पतालका चार स्थायी मेडिकल अधिकृतमध्ये कोही पनि छैनन् । सो पदमा छात्रवृत्ति करारका चारजनाले काम गरिरहेका छन् । स्थायी एकजना नर्सिङ अधिकृत पनि छैनन् । सो पदमा करार पदपूर्ति गरिएको छ । स्टाफ नर्सको आठ स्थायी दरबन्दी हो । जसमध्ये एकजना स्थायी छन् । दुईजना पढ्न गएका छन् । यीबाहेकका अरू धेरै पद खाली छन् ।

अत्यधिक सेवाग्राही आउने, पुरानो साँघुरो संरचना र कम जनशक्तिबीच गुणस्तरीय सेवा दिन निकै मुस्किल परेको पच्याले बताए । उनले ठूलो भवन भन्दै गरेकाले भौतिक संरचनाको दीर्घकालीन समस्या नभए पनि जनशक्ति व्यवस्थापन निकै गाह्रो रहेको बताए । अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेयले भिड कम गर्न टोकन सिस्टम र पालो पर्खन प्रतीक्षालय निर्माणलगायतका काम गरिरहेको भए पनि विशेषज्ञसहितका डाक्टर ल्याउन सबैले पहल गर्नुपर्नेमा जोड दिए ।

बिमाले उपचारमा राहत, सेवा पाउन कठिन

रेसुंगा नगरपालिका– ६ की ८३ वर्षीया पुनकला मरासिनी बिहान ९ बजेबाटै गुल्मी अस्पताल परिसरमा थिइन् । सुगरको समस्याले धेरैपटक अस्पताल आउँछिन् । बिमा भएकाले निस्शुल्क सेवा पाएकी छिन् । तर, भिडबाट डाक्टरसम्म पुग्न निकै मुस्किल पर्छ । टोकनदेखि डाक्टर र ल्याब हुँदै औषधिसम्म पुग्दा दिन बितेको छोरा जीवलाल मरासिनीले गुनासो गरे । वृद्धवृद्धा र अशक्तले पनि पालो कुर्नुपर्ने प्रवृत्तिको व्यवस्थापन गर्न मरासिनीले अनुरोध गरे।

गुल्मी अस्पतालमा एकजना स्थायी र एक करार गरेर दुईजना विशेषज्ञ डाक्टर छन् । त्यसबाहेक छात्रवृत्तिका केही मेडिकल अधिकृतले बिरामी हेरिरहेका छन् । गुल्मी अस्पताल ५० शय्याको हो । पछिल्लो समय दैनिक न्यूनतम दुई सयदेखि चार सयभन्दा बढी बिरामीले यस अस्पतालबाट सेवा पाउने गरेका छन् । तीमध्ये दैनिक साढे दुईदेखि तीन सयले बिमामार्फत सेवा लिने गरेका छन् । बिमा गरेकै कारण आवश्यकता नपरीकनै परीक्षण गर्ने र औषधि माग्नेहरू पनि उत्तिकै छन् । जसका कारण अस्पतालमा भिड बढ्ने गरेको छ ।

बिमामा उल्लेख गरेअनुसारको औषधि नपाउने गरेको गुनासो पनि आउने गरेको छ । रेसुंगा नगरपालिका( ९ का नवीन गैरेले महँगो औषधि किन्नुपरेको गुनासो गरे । अस्पतालको फार्मेसी शाखा प्रमुख सरोज पन्थीले करिब ५० प्रकारका औषधिको अभाव रहेको बताए । उनले विशेषज्ञ नहुनु, तोकिएको दरअनुसार टेन्डर नपर्नेलगायतका कारण औषधिको अभाव भएको बताए ।

पैसाको कारण सहर पल्के डाक्टः स्वास्थ्यमन्त्री थारू

लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारूले डाक्टरी सेवा बोकेर दुर्गम पुग्नेभन्दा पैसा कमाउन सहरकेन्द्रित भएका कारण पहाडी जिल्लाका अस्पतालमा दरबन्दी खाली हुँदै गएको बताए ।

गुल्मी अस्पतालको अनुगमनका लागि आएका मन्त्री थारूले स्थायीसँगै छात्रवृत्ति करारका डाक्टरहरूसमेत सहरका अस्पतालमा बसेर बाहिर कमाउन पल्केकाले अहिलेको अवस्था आएकाले बताए । उनले भने, ‘कार्यविधि बनाएर विशेषज्ञ डाक्टरहरूलाई तीन–तीन महिना घुम्तीका रूपमा पठाउने कोसिस भइरहेको छ ।’

उनले गुल्मी अस्पतालमा बिरामीको चापअनुसार जनशक्ति व्यवस्थापन गर्न नसकिएको स्वीकार गर्दै दबाब सिर्जना गरेर दरबन्दीका डाक्टर ल्याउने र त्यसपछिको विकल्पमा करारका डाक्टर भर्ना गर्नुको विकल्प नभएको बताए । तर, गुल्मी अस्पतालमा करारमा डाक्टरको भर्ना खुलाउँदासमेत कोही आउँदैनन् । यो जिल्लाको एक मात्र सरकारी अस्पताल हो । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

Array