२५ जेठ, काठमाडौं । एमसीसी इण्डो प्यासिफिक को हिस्सा हो भनि आवाज उठी रहेको बेला इन्डो प्यासिफिक कमाण्ड का उच्च अधिकारि को नेपाल भ्रमण लाइ अर्थपूर्ण लिएको छ।

अमेरिकी सेनाका प्यासिफिक कमान्ड कमान्डिङ वरिष्ठ जर्नेल चार्ल्स ए फ्लाएन चार दिने नेपाल भ्रमणमा आउने तय भएको छ ।नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा शान्ति सैनिकहरू तैनाथ रहेका मुलुक हुँदै अमेरिका भ्रमण जानुपूर्व अमेरिकी सेनाका वरिष्ठ जर्नेल फ्लाएनले २६ देखि २९ असारसम्म नेपाल भ्रमण गर्ने तय भएको हो ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालका अनुसार फ्लाएनको भ्रमण तय भए पनि प्रधानसेनापति शर्मासँग भेट गर्ने बाहेकको अन्य कार्यतालिका स्वीकृत भइसकेको छैन ।
उनी अमेरिकी सेनाको विशेष विमानबाट जेठ २६ गते बिहीबार नेपाल आउने छन् । नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारी चलिरहेको र प्रधान सेनापतिको भ्रमण तय भइसकेको अवस्थामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।
मन्त्रिपरिषदले प्रधानसेनापति शर्मा संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा १३ देखि १७ असारसम्म अमेरिकाको वासिङ्टन डीसी पुगेर फर्कने भ्रमण कार्यक्रम स्वीकृत गरिसकेको छ ।
त्यसअघि शर्माको ४ देखि १० असारसम्म संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरू तैनाथ रहेको लेबनान र सिरियास्थित शान्ति मिसनहरूको निरीक्षण भ्रमण गर्ने कार्यक्रम छ ।
भ्रमणको समयमा प्रधानसेनापति शर्मालगायतको टोलीले मिसनहरूको वस्तुस्थिति, अपरेसनल गतिविधि, फौज तैनाथीको अवस्थालगायतका पक्षका बारेमा जानकारी लिने र राष्ट्र तथा शान्ति मिसनका उच्च पदस्थ अधिकारीसँग भेटघाट गर्ने सेनाको भनाइ छ । ‘निरीक्षण भ्रमणबाट द्वन्द्वग्रस्त क्षेत्रमा तैनाथ फौजको हौसला अभिवृद्धि हुनुका साथै उच्च पदस्थ अधिकारीहरूसँगको भेटघाटबाट द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्ध थप वृद्धि हुने विश्वास छ,’ नेपाली सेनाले भनेको छ ।
नेपाली सेनाले उच्चस्तरीय सैनिक नेतृत्वबाट नियमित रुपमा हुने गरेको यस प्रकारको भ्रमण, विगत लामो समयदेखि स्थापित नेपाली र अमेरिकी सेना लगायत दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध एवं विद्यमान द्विपक्षीय सहयोग तथा सहकार्यको क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण सावित हुने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्