३० वर्षदेखि फोहोरमैलामा अरबौँ रुपैयाँ खर्च भइसक्यो तर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ बैशाख २०७९, बिहीबार
4 Min Read
Aa

काठमाडौं महानगरपालिकाका मेयरका ५६ जना प्रत्यासीमध्ये एक हुन्–सुशील थापा क्षेत्री । स्वास्थ्य क्षेत्रमा धेरै वर्षदेखि काम गरिरहेका व्यवस्थापन विषयका जानकार थापा महानगरको दुर्दशा देखेर वाक्क–दिक्क भएका छन् । जतिलाई भोट हाले पनि कसैले केही गरेनन्, अब के गर्ने त ? आफैं काठमाडौं महानगरलाई सफा राख्छु भन्ने सोच पलाएपछि उनी स्वतन्त्ररुपमा राजनीतिमा होमिएका छन् ।

 

 

‘महानगरमा बसोबास गर्ने धनाढ्यहरुले गरेको फोहोर लगेर गरीबहरु बस्ने गाउँमा किन फालिदिने ?’ उनी भन्छन् । उनका अनुसार राजधानी काठमाडौं महानगरमा उत्पन्न हुने फोहोरलाई छिमेकी जिल्लाको गाउँमा ‘ल्यान्डफिल्ड साइट’ बनाएर फाल्नुभन्दा ‘जिरो वेस्ट म्यानेजमेन्ट’ गर्नु उचित हुन्छ । महानगरको मेयर पद व्यवस्थापकीय पद हो । त्यसैले यसका लागि राजनीतिक दल आवद्ध नेता/कार्यकर्ता नै हुनुपर्छ भन्ने छैन ।

अहिले नेपालीहरुले पाइरहेका स्वास्थ्यका ‘डायग्नोस्टिक’ सेवामा विगत ३० वर्षदेखि सेवा पुर्‍याइरहेका थापा गुणस्तरीय व्यवस्थापनमा दक्ष मानिन्छन् । व्यवस्थापनमा रहेको आफ्नो त्यही क्षमता उनी काठमाडौं महानगरलाई सफा, सुन्दर र सुरक्षित बनाएर देखाउन चाहन्छन् । त्यसैका लागि उनी यसपालि मेयरमा उठेको बताउँछन् । भन्छन्, ‘नितान्त महानगरवासीलाई सेवा दिने मेरो चाहना हो ।’

काठमाडौंको बौद्धस्थित महेन्द्र बौद्ध स्कुलबाट एसएलसी गरेका उनले विदेशबाट व्यवस्थापनमा उच्च शिक्षा हासिल गरेका छन् । शिक्षासेवी उनका बुवा अरुणिमा स्कुलको संस्थापक अध्यक्ष हुन् ।

तपाईंलाई काठमाडौंको मेयरमा चुनाव उठ्न केले प्रेरित गर्‍यो भन्ने प्रश्नको जवाफमा थापा भन्छन्, ‘२०७२ सालको भूकम्पका बेला ८० हजार ‘ब्लड व्याग्स’ को व्यवस्था गरेको थिएँ । त्यसको व्यवस्थापन राम्ररी नभएको भन्ने सुनेपछि निकै दुःख लाग्यो । कोभिड–१९ को बेला पनि सरकारले किनेको ‘कोभिड टेस्टिङ किट्स’हरुले काम गरेन । अनि मैले रोस डायग्नोस्टिक कम्पनी जहाँ काम गर्थेँ त्यहाँबाट ३० हजार ‘टेस्टिङ किट्स’ ल्याएर हस्तान्तरण गरेपछिमात्र पीसीआर परीक्षण वास्तविक रुपमा अगाडि बढ्यो । तर, त्यसको कार्यान्वयनका बेला मैले पुरै अव्यवस्थापन देखें । महानगरपालिकामा महामारीका बेला काम गर्ने व्यवस्थापकीय क्षमता एकदम कमजोर पाएँ । विद्यासुन्दर शाक्यजीको टोलीलाई दुईपटकसम्म यसबारे अवगत गराएँ । तर उहाँले ध्यानै दिनुभएन । त्यसपछि मेरो बुझाइ के रह्यो भने हामी स्रोतको अभाव भएर महानगरवासीलाई सेवा दिन नसकिरहेका होइनौं, व्यवस्थापकीय असक्षमताका कारण असफल भएका हौँ । अहिले पनि महानगरपालिकाको २० अर्ब स्रोतमा ८ अर्ब रुपैयाँ त बैंकमा रहेको छ । ७ अर्ब बेरुजू छ । २ अर्ब ३४ करोड मसलन्दमा खर्च छ । सोध्न गयो भने केहीको पनि स्पष्ट जबाफ दिन सक्दैनन् ।’

उनका अनुसार महानगरमा ३० वर्षदेखि फोहोरमैलामा अरबौँ रुपैयाँ खर्च भइसक्यो तर यसमा कुनै संरचनागत विकास देखिएको छैन । ‘तदर्थवादमा चलेको छ । संसारले अस्विकार गरेको ‘डम्पिङ साइटको फर्मुला’ राम्रो भनेर अझ पनि त्यसैको खोजीमा छौं,’ उनले भने, ‘अहिले हामी दुई/चारजना स्वतन्त्र उम्मेदवारले धनीको फोहोर गरिबको आँगनमा लगेर फाल्नु हुन्न । यो मानवअधिकार विरोधी कार्य हो । यस्तो नियम संसारमा कहीँ छैन । यसलाई ‘जिरो वेस्ट म्यानेजमेन्ट’ प्रणालीबाट समाधान गर्नुपर्छ भन्न थालेपछि बल्ल एक/दुईजना उम्मेदवारले ‘जिरो वेस्ट म्यानेजमेन्ट’ को कुरा गर्न थाल्नु भएको छ । नत्र भने त उही बञ्चरे डाँडामा फोहोर लगेर फाल्छु भन्नेबाहेक केही थिएन ।’

काठमाडौँ महानगरलाई सफा, सुन्दर र सभ्य बनाउन भन्दै उनले चार खम्बे नीति अघि सारेको बताए । थापाका अनुसार महानगरको सौन्दर्यका लागि थालिहाल्नुपर्ने कार्य भनेका सफा र सभ्य महानगर बनाउने, वातावरण सुधार्ने, रोजगार प्रबर्धन गर्ने र संस्कृति र सम्पदालाई बचाउने नै हो ।

सफा र सभ्य सहर बनाउन तुरुन्त फोहोरमैलालाई ‘जिरो वेस्ट म्यानेजमेन्ट’ मा लैजाने उनी बताउँछन् । भन्छन्, ‘वातावरणलाई प्रदूषणमुक्त बनाउन यहाँका नदीहरुलाई सफा राख्ने हो । त्यसका लागि नदीमा पसेर फोहोर सोरिरहने होइन । नदीमा फोहोर नै नफ्याँक्ने चेतना जगाउने हो । शिक्षाको गुणस्तर नसुधारी हुन्न । त्यसपछि महिला सुरक्षा, अपांगता भएकाहरुको सुरक्षा, सम्पदाको सुरक्षा, मूर्तिको सुरक्षामा ध्यान दिनुपर्छ ।’

source

प्रतिक्रिया दिनुहोस्

Array